काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको कार्य शैलीप्रति कांग्रेसले असन्तुष्टि जनाएको छ । कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मुख्यमन्त्री चौधरीले पार्टीको नीति, विधि, पद्धती र जनतामाझ गरेका वाचा विपरीत काम गरिरहेको बताउनुभयो ।
‘डिल्ली चौधरीसँग ब्यक्तिगत रुपमा मेरो केही असहमति छैन । नीतिगत रुपमा जुन शैलीमा काम गरिरहनु भएको छ, त्यो कामप्रति हामी कांग्रेसको, लुम्बिनी प्रदेशका सिनियर नेता र संस्थागत रुपमा लुम्बिनी प्रदेशका कांग्रेसको पनि असहमति रहेको बताउनुभयो ।
प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उहाँले भन्नुभयो, ‘उहाँ सच्चिएर जान पर्यो । सरकार कांग्रेसको नीति, विधि र पद्धति, हामीले हिजो जनताका बीचमा गरेका प्रतिवद्धता, हाम्रा घोषणापत्रलाई टेकेर अगाडि बढ्न पर्यो ।’
उहाँले आफ्नै पहलमा चौधरीलाई सर्वसम्मत लुम्बिनी प्रदेश संसदीय दलको नेता बनाएको स्मरण गराउँदै सच्चिएर जानुपर्ने आवश्कता औंल्याउनुभयो । हामीहरु उहाँको कार्यशैलीप्रति असहमत छौं ।
प्रदेशप्रति दिनप्रतिदिन प्रश्न चिन्ह खडा हुँदैछन् । संघीयताविरुद्धामा विद्रोहको स्थिति देखा परेको छ । त्यसलाई समाधान गर्न प्रदेश सरकार कामकाजी हुनुपर्यो । प्रदेशलाई राम्रोसँग चलाउने गरी अगाडि बढ्नुपर्यो,’– उहाँले भन्नुभयो ।
‘उहाँ सिंगो लुम्बिनी प्रदेशको मुख्यमन्त्री हो । तर, यसको मतलब कांग्रेसको कुरै नमान्ने, कांग्रेसका हिजोको घोषणापत्र, प्रतिवद्धता र कांग्रेसको सिद्धान्तनै नमान्ने होईन होला । हाम्रो विधान र संसदीय व्यवस्थाअनुसार जानुपर्ला नि ?’ उहाँले प्रश्न गर्नुभयो ।