काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनताले कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार नगर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले मुलुक गम्भीर आर्थिक, सामाजिक तथा भू–राजनीतिक संक्रमणबाट गुज्रिरहेको उल्लेख गर्दै वर्तमान चुनौती सामना गर्न प्रमुख राजनीतिक दलहरूबीच सहकार्य र राष्ट्रिय एकता आवश्यक रहेको बताए।
उनले आवश्यकता र समयअनुसार संविधान संशोधन तथा परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप बलियो र प्रभावकारी बनाउनुपर्ने धारणा राखे। साथै, मुलुकलाई पूर्ण समावेशिताको बाटोमा अघि बढाउन नेपाली कांग्रेसको साथ र समर्थन आवश्यक रहेको बताए।
भण्डारीले लोकतन्त्रलाई कुनै पनि रूपमा संकुचित गर्न नहुनेमा जोड दिँदै भने, ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन। नेपाली जनताले लोकतन्त्रको कुनै पनि संकुचन स्वीकार गर्ने छैनन्।’
उनका अनुसार मुलुकको वर्तमान संक्रमण र चुनौतीलाई पार गर्न लोकतान्त्रिक मूल्य–मान्यता, राष्ट्रिय एकता र राजनीतिक दलबीचको सहकार्यलाई प्राथमिकतामा राख्न आवश्यक छ।