काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीति ‘अँध्यारो सुरुङतर्फ धकेलिएको’ बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले नेतृत्व परिवर्तन हुँदैमा मात्र मुलुकका समस्या समाधान नहुने बताएका हुन्। उनले राजनीतिक व्यवस्था र संविधानमै रहेका कमजोरीबारे गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखे।
कांग्रेसको १४औँ महाधिवेशनको स्मरण गर्दै लिङ्देनले त्यतिबेला शेरबहादुर देउवा, केपी शर्मा ओली र माधवकुमार नेपाललगायतका नेताहरूको उपस्थिति रहेको तर अहिले परिस्थिति फेरिए पनि देशको अवस्था र नेताप्रतिको जनताको दृष्टिकोणमा अपेक्षित परिवर्तन नआएको बताए।
उनले निर्वाचनपछि छ महिनाको अभ्यासले पनि व्यक्तिमात्र परिवर्तन गरेर समस्याको समाधान नहुने देखाएको दाबी गरे। ‘समस्या व्यक्तिमा मात्र होइन, हामीले उत्कृष्ट भनेर ल्याएको संविधान र व्यवस्थामा छ,’ भन्दै उनले संविधानमा रहेका त्रुटि सुधार्नुपर्ने बताए।
लिङ्देनले विगतको निषेधको राजनीतिले मुलुकलाई बर्बादीतर्फ धकेलेको टिप्पणी गर्दै अब राष्ट्रिय सहमतिको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए।
उनका अनुसार विगतमा राजाले दल र दलले राजालाई निषेध गर्ने राजनीति गरेका कारण त्यसको परिणाम मुलुकले भोगिरहेको छ। अहिले फरक स्वरूपमा सामाजिक सञ्जालमार्फत हुने आक्रमणले पनि राजनीतिक सहिष्णुताको आवश्यकता देखाएको उनले बताए।