दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सङ्घीय सरकारबाट प्राप्त सशर्त अनुदान फिर्ता जाने अवस्था अन्त्य गर्न निर्देशन दिएका छन्।
राप्ती उपत्यका (देउखुरी) मा आयोजित आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए। प्रदेशको कुल बजेटको करिब १५ प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको उल्लेख गर्दै उनले उपलब्ध बजेट कार्यान्वयनमा कमजोरी गर्न नहुने बताए।
“स्वास्थ्य क्षेत्रमा बजेटको अभाव हुन दिएका छैनौँ। सङ्घीय सशर्तको बजेट कार्यान्वयनमा विशेष ध्यान दिन जरुरी छ,” आचार्यले भने, “सङ्घबाट आएको बजेट खर्च गर्न सकेनौँ भने उतै फर्किएर जाने हो।”
सङ्घबाट प्राप्त हुने बजेट क्रमशः घट्दै गइरहेको अवस्थामा उपलब्ध स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा उनले जोड दिए। प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरेर स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।
मुख्यमन्त्री आचार्यले कुपोषण न्यूनीकरणलाई प्राथमिकतामा राख्दै तराईका दक्षिणी क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए। पोषण सुधारका लागि स्वास्थ्य सेवा विस्तारसँगै नागरिकको चेतनास्तर बढाउनुपर्ने उनले बताए।
विद्यालय केन्द्रित स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै आचार्यले विद्यालय तहदेखि नै स्वस्थ जीवनशैली र पोषणसम्बन्धी चेतना विकास गर्नुपर्ने बताए। स्वास्थ्यका केही सूचकमा सुधार देखिए पनि खोप कार्यक्रमको सूचकमा अपेक्षित प्रगति हुन नसकेको भन्दै उनले त्यसको कारण पहिचान गरी सुधारका उपाय अवलम्बन गर्न निर्देशन दिए।
प्रदेश मातहतका अस्पतालको व्यवस्थापन सुधारमा समेत मुख्यमन्त्री आचार्यले जोड दिए। अस्पतालभित्र हुने आर्थिक तथा प्रशासनिक चुहावट नियन्त्रण गर्दै सरकारी अस्पताललाई क्रमशः आत्मनिर्भर बनाउने योजना बनाउनुपर्ने उनको भनाइ छ।
निजी अस्पताल नाफामा जाने तर सरकारी अस्पताल घाटामा रहने अवस्था अन्त्य गर्न अस्पताल व्यवस्थापनमा विशेष सुधार आवश्यक रहेको आचार्यले बताए। “समीक्षा गर्दा हाम्रा कमी–कमजोरी कहाँ छन् भनेर पत्ता लगाउनुपर्छ। कमजोरी समाधान गर्ने योजना बनाउनुपर्छ,” उनले भने।
स्वास्थ्य क्षेत्रमा अवस्था निराशाजनक नरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै स्वास्थ्य सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए।
प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनले स्वास्थ्य सेवा प्रदेशका करिब ५२ लाख नागरिकसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले समस्याको प्राथमिकता निर्धारण गरी समाधानको स्पष्ट योजना बनाउनुपर्ने बताए।
स्वास्थ्य सचिव विकास देवकोटाले रुपन्देहीमा ठूलो अस्पताल निर्माण भइरहेको जानकारी दिँदै प्रदेशमा स्वास्थ्य सेवाको क्षेत्रमा क्रमिक सुधार भइरहेको बताए। स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक नेत्रलाल अर्यालले मातृ मृत्युदरमा सुधार आए पनि राष्ट्रिय खोप कार्यक्रमको सूचक लक्ष्यअनुसार अघि बढ्न नसकेको जानकारी दिए।
रुपन्देही, नवलपरासी र पाल्पामा घरमै सुत्केरी हुने अवस्थालाई शून्यमा झारिएको भए पनि कपिलवस्तुमा अझै होम डेलिभरीको समस्या कायम रहेको अर्यालले बताए। उनले खोपको सूचक घट्नुका कारण पहिचान गरी तत्काल सुधारका कदम चाल्नुपर्नेमा जोड दिए।