काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई विश्वका विभिन्न देशका प्रमुख राजनीतिक दल, सरकार प्रमुख तथा अन्तर्राष्ट्रिय राजनीतिक संस्थाहरूले शुभकामना व्यक्त गरेका छन्।
छिमेकी भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीन तथा प्रमुख प्रतिपक्षी दल इन्डियन नेसनल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले कांग्रेसको १५औँ महाधिवेशन सफलताको शुभकामना पठाएका छन्। उत्तरी छिमेकी चीनको सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले पनि महाधिवेशनको पूर्ण सफलताको कामना गरेको छ।
त्यस्तै, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष तथा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले महाधिवेशनप्रति शुभकामना व्यक्त गरेका छन्। इन्टरनेसनल काउन्सिल अफ एसियन पोलिटिकल पार्टिज (आईक्याप) स्ट्यान्डिङ कमिटीले पनि छुट्टै सन्देशमार्फत कांग्रेसको महाधिवेशन सफलताको कामना गरेको छ।
बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान, बेलायतको सत्तारूढ लेबर पार्टीसहित एसिया र युरोपका विभिन्न राजनीतिक दल तथा संस्थाहरूले समेत कांग्रेसलाई शुभकामना दिएका छन्।
क्षेत्रीय तथा विश्व राजनीतिमा नयाँ राजनीतिक घटनाक्रम र परिवर्तन भइरहेका बेला सुरु भएको कांग्रेसको १५औँ महाधिवेशनप्रति अन्तर्राष्ट्रिय राजनीतिक समुदायबाट प्राप्त शुभकामनालाई कांग्रेसले महत्त्वपूर्ण राजनीतिक ऐक्यबद्धताका रूपमा लिएको छ। महाधिवेशनले नेपालको लोकतान्त्रिक अभ्यास र समुन्नतिका लागि थप योगदान गर्ने अपेक्षा पनि व्यक्त गरिएको छ।